KFGVRFI34

लोकसेवा पढ्छु भन्ने भाइले पनि विदेश जाने ढिपी गर्न थालेपछि…

0

बाबु प्लस टुपछि के गर्छौ भन्ने प्रश्नमा भाइले निर्धक्क भएर जवाफ दिन्थ्यो- लोकसेवा पढ्छु। निजामती कर्मचारी बन्छु।

मम्मीले पनि उसको सपनाको समर्थन गर्नुहुन्थ्यो। जे गरे पनि नेपालमै गरुन्। सन्तान कहिल्यै टाढा नबनून् भन्ने चाहना थियो उहाँको पनि।

मैले पूरा गर्न नचाहेको मम्मीको अपुरो सपना भाइले पूरा गर्ने भयो भन्ने लागेको थियो र त ढुक्क भएकी थिएँ, म पनि।

तर समय र परिस्थितिसँगै बदलिएका सपनाका आकार र उचाइको कारणले होला मम्मीले सोचेको जस्ताे सजिलो बाटो हामी हिँडेनौँ। भाइले पनि विदेश नै अन्तिम विकल्पका रुपमा अघि सार्यो। म अहिले नाजवाफजस्तै बनेकी छु।

एसईईमा राम्रो प्रतिशत ल्याएपछि थप अध्ययनका लागि मैले नै उसलाई काठमाडौं लिएर गएकी थिएँ।

सहरले उसलाई विलासितातर्फ धकेलेको हो कि अथवा देशको निराशाजनक अवस्थाले यो निर्णय लिएको हो‍, यो छुट्याउन निकै सकस परेको छ।
कक्षा दससम्म गाँउमै पढेको हो उसले। अहिले भर्खरै १२ उत्तीर्ण गरेको छ। अध्ययनमा कमजोर होइन। कक्षा १ देखि नै विद्यालय तहमा राम्रो नतिजा ल्याएर उत्तीर्ण हुन्थ्यो।

काठमाडौंमा पढ्न थालेपछि पछिल्लो समय उसको पढाइप्रतिको लगाव नै घटेको मैले महसुस गरेकी थिएँ। पढाइमा ध्यान देऊ न भन्दा उसको जवाफमा अन्त्यमा विदेश नै जानपर्ने हो। यी पाठ घोकेर पनि के गर्नु? उसको जवाफ सुनेपछि म कयौंपटक नाजवाफ भएँ।

समयले यसरी हैकम जमाउने रहेछ कि मानौं चाहेर पनि अभिभावकको सपनाको पछिपछि हिँड्न असमर्थ भइने रहेछ।

यसरी अहिले एकाएक बदलिएको उसको सपनाले परिवारमा निकै ठूलो हलचल ल्याएको छ। सन्तान सबै परदेशिँदा एक्लै हुने चिन्तामा हुनुहुन्छ मम्मी। हाम्रो महत्वाकांक्षा नै बढी भएको हो कि राज्यले आशा जगाउन नसकेको हो?

यसो विचार गर्छु। धेरै त के नै चाहिएको हो र? प्लस टु सकिएपछिको विद्यार्थीलाई त्यसपछिको पढाइ पूरा गर्न पार्ट टाइम जब र उच्च शिक्षा हासिल गरेपछि उसको क्षमताअनुसारको सुहाउँदो जागिरको ग्यारेन्टी भए सायदै यसरी विदेशिने रहर पलाउँदैनथ्यो।

वर्षौंदेखि लोकसेवा आयोगको जाँच दिएर असफल भइरहेका उसको अघिल्ला ब्याचका साथीहरू उसलाई भन्दा रहेछन्, समयमै विदेश जाऊ उतै सेटल होऊ। यति मात्र होइन झण्डै १२ वर्षभन्दा बढीको मेहनतपछि लोकसेवा आय‍‍ोगको नायब सुब्बा पदमा रहेका उसकै साथीको बुबाले जागिर समेत छाडेर विदेशिने निर्णय गरेका रहेछन्। डीभी परेपछि अधिकृत तहकै जागिर छाडेर अमेरिका पुगेका हाम्रै चिनजानका एक व्यक्तिले विदेश नै सही विकल्प भएको बताएका रहेछन्।

विदेश गएपछि भाँडा माझ्न, टोइलेट सफा गर्न समेत तयार हुने विद्यार्थी सानो अवसर भएको भए नेपालमै अडिन पनि सक्थे कि!

थोरै होलान रहरले विदेशिने। तर हजारौँ त करले विदेशिएका छन्। देश अनुसारको विदेश छिर्ने शैली फरक छ। देश अनुसारको लगानी फरक छ। कोही थोरै पैसामा खाडीतिर भासिन्छन्। कोही पढ्ने बहानामा अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र युरोपतिर।

विद्यार्थी भिसामा जाने र आर्थिक रुपमा सक्षम हुन चाहने जुनसुकै विद्यार्थीलाई सहज छैन। निकै कष्टकर दैनिकी बिताउनुपर्ने बाध्यता हुन्छ। महँगो शुल्क तिर्न मुस्किल हुन्छ।

हरेकजसो नेपालीको लक्ष्य एउटै हुन्छ। आर्थिक रुपमा सक्षम हुने। पैसा कमाउने अनि घर परिवारको मुखमा मिठो हाँसो र आनन्दको निन्द्रा लगाउने।युरोप, अमेरिका विद्यार्थी भिसामा जाने कतिपय विद्यार्थीले पढ्ने कम र आर्थिक रुपमा सक्षम हुने झन् ठूलो सपना बोकेका हुन्छन्।

उसो त भाइको सोच छ- पढाइ सकेर केही पैसा कमाएर आफ्नै देश फर्किने। ठूलो व्यापार गर्ने। कामदार लगाउने। अनि व्यापारलाई राम्रो बनाउने। तर सोचेको जस्तो सजिलो छैन।

सुन्दर भविष्यको आशमा विदेशिने जो कोहीले हरेक दिन हार्छ। १२ सम्म निकै मेहनतले राम्रो डिभिजन ल्याएको व्यक्तिले अस्ट्रेलियामा भाँडा माझ्दै गर्दा कति धेरै गिल्टी फिल गर्छ, त्यो उसलाई मात्रै थाहा हुन्छ।

आफ्ना सपना एकातिर विदेशमा ड्युटी र आफ्नो इच्छाविपरीतको अध्ययन अर्कोतिर। यसरी गुज्रिएको दैनिकीले केवल हारेको महसुस सिवाय के गराउँछ होला?

भन्न त सहज छ। देशको माया नभएपछि मान्छे विदेश भासिएका हुन्छन्। तर त्यसो होइन। भविष्यको सुनिश्चितता गर्ने नाममा कहिल्यै उम्कन नसक्नेगरी धेरै युवा भासिन्छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34