KFGVRFI34

धेरै गीत गाइसकेकी मनु भन्छिन्- गाएर खर्च धानिएन, होटल चलाएँ

0

झन्डै तीन दशक भयो उनले गाउन थालेको। अहिलेसम्म कतिवटा गीत गाइसकिन्, उनैलाई याद छैन। अन्तिमपटक उनले गन्दासम्म आठ सयवटा पुगेका थिए। गन्न छोडेको आठ वर्ष भइसक्यो। अहिले एक हजारभन्दा त बढी भइसकेको उनी बताउँछिन्।

मनु नेपाली र लिम्बू दुबै भाषाका गीत गाउँछिन्। बढी परिचित भने लिम्बू भाषाकै गायनमा छिन्। लिम्बू समुदायविशेष कार्यक्रम होस् वा कुनै समारोह, मनुका गीत बिरलै छुट्छन्। उनलाई दर्शकले ‘स्वर किन्नरी’ को उपाधि समेत दिएका छन्।

उनी अभिनय पनि गर्छिन्। हरेकजसो लिम्बू फिल्ममा उनले काम गरेकी छन्, कुनैमा अभिनय त कुनैमा डबिङ।

‘आफ्नो संस्कृतिको गीत गाउनेहरू कम छन्। म लिम्बू भाषामै पहिचान बनाउँछु भनेर लागिपरेकी मान्छे हुँ,’ उनी भन्छिन्।

उनको आफ्नै रेकर्ड स्टुडियो छ, एभरेस्ट कल्चर मिडिया। यहाँ गीत रेकर्ड र फिल्म डबिङ हुन्छ। यसबाहेक उनको अधिकांश समय होटलमा बित्छ।

Laxmi bank

गायनमा निरन्तर २८ वर्ष खर्चिए पनि, स्रोता-दर्शकको प्रशस्तै माया पाए पनि, उनले यही कामबाट आफ्नो जीवन गुजारा चलाउन सकेकी छैनन्। जीविकोपार्जनका निम्ति सानो होटल चलाइरहेकी छन्। होटल सुरू नगरेको भए सायद उनी गायन क्षेत्रमा रहने पनि थिइनन्!

‘मेरो खाने भाँडो भनेकै यही होटल हो। गाएर त जीवन धान्न धेरै गाह्रो छ,’ मनुले भनिन्।

Nchl

 

 

नख्खिपोट, विशाल चोकमा, निलो टहरामा छ उनको ‘होटल चौतारी’। यसको सबै जिम्मा र सञ्चालन मनु र उनका श्रीमानले नै गर्छन्। पहिले सहयोगी भए पनि अहिले उनीहरूले मात्रै सम्हालेका छन्।

पाँचथरमा जन्मिएकी मनुलाई सानैदेखि ‘पालाम गायन’ र ‘धान नाच’ मा रूचि थियो। पालाम लिम्बू समुदायको लोक गीत हो। उनका अनुसार उनी हुर्किँदै गर्दा पालाम लोप हुँदै गएको थियो। कहिलेकाहीँ मेला तथा महोत्सवमा मात्र गाइन्थ्यो। उनका दिदीहरू खुब धान नाच्थे। उनलाई पनि रहर लाग्थ्यो। दिदीहरूको पछि लागेर मेला-महोत्सव पुग्थिन्। तर दिदीहरू उनलाई चकलेट-बिस्कुट दिएर फकाउँथे र झोला कुरूवा राख्थे। रातभर धान नाच हुँदा, उनी झोला कुरेर बस्थिन्।

त्यस्तै आफू सहभागी नभए पनि उनलाई पालामको राग पसिसकेको थियो।

‘तर म आफैं गाउने हुन्छु होला भनेर कल्पना गरेकी थिइनँ,’ मनुले भनिन्।

२०५३ सालमा मनुले किशोर सुब्बा निर्देशित फिल्म ‘आनेसक्थिम’ मा गाउने अवसर पाइन्। यसअघि उनले गाउँमै तीनवटा लिम्बू भाषाका नाटक गरेकी थिइन्। नाटकमा सानो गीत पनि गाएकी थिइन्। फिल्म ‘आनेसक्थिम’ खिच्न निर्माण टिम उनको गाउँ पुगेको थियो। नाटकमा उनको गायन मन पराएर उनीहरूले मनुलाई प्रस्ताव गरेका थिए।

फिल्ममा उनले तीनवटा गीत गाइन्। दुइटा कोरसका रूपमा र एक मुख्य गायकका रूपमा। फिल्ममा उनको अभिनय पनि छ। मनुका अनुसार यो फिल्मको गीत गाउँमै लाइभ बाजाका साथ रेकर्ड गरिएको थियो। तर राम्रो भएन। त्यसपछि २०५४ सालमा फिल्मकै अर्को गीत काठमाडौंमा रेकर्ड गरियो। त्यति बेलै हो उनी पहिलोपटक काठमाडौं आएकी।

काठमाडौं आउँदा उनको अनुभव पनि रमाइलो छ।

‘रातिको खाना खानुस् भन्दै मुग्लिङमा गाडी रोकियो। बाहिर झलमल्ल उज्यालो थियो। त्यो उज्यालो बत्तीको हो भन्ने पत्तै थिएन। मलाई त दिउँसै जस्तो लागेको थियो,’ उनले सम्झिइन्।

गाउँबाट उनी एक्लै गाडी चढेर आएकी थिइन्। चिनजानका कोही थिएनन्। रत्नपार्कमा गाडी रोकियो। आनेसक्थिम फिल्मको निर्माण टिमले फोननम्बर दिएको थियो। तर गाडीबाट ओर्लिएपछि अलमल परिरहेकी थिइन्।

सँगै यात्रा गरिरहेका एक जनाले उनलाई तपाईं कहाँ जाने भनेर सोधे। उनले बागबजार भनिन्। ती व्यक्तिले बाटो थाहा छ त भनेर सोधे। उनले थाहा छैन भनिन्।

‘मेरो कोठा नजिकै छ। त्यहाँ मेरो झोला छोडौं अनि म तपाईंलाई बागबजार लगिदिन्छु,’ ती व्यक्तिका भनाइ उद्धृत गर्दै मनुले सुनाइन्।

मनुलाई ती व्यक्तिको कुराले एक्कासि डर भयो। झट्टै जादिनँ भनिदिइन्।

त्यसपछि ती व्यक्ति ‘त्यसो भए तिमी यही बस, म झोला राखेर आउँछु’ भनेर हिँडे। मनु के गर्ने, गर्ने भइरहेकी थिइन्। जाने कि उनलाई कुर्ने? आउने कि नआउने, कुनै भर थिएन। तर केहीछिनमै ती व्यक्ति आए र मनुलाई बागबजार पुर्‍याइदिए।

‘मैले डरैले उहाँको नाम सोध्ने हिम्मत पनि गरिनँ,’ उनले सुनाइन्।

काठमाडौं आएपछि उनी जीवनमै पहिलोपटक रेकर्ड स्टुडिओ छिरिन्। अशोक लोहरूङ राईको स्टुडिओबाट उनको गायन यात्रा सुरू भयो। छोटो समयमै लिम्बू भाषाका थुप्रै गीत गाउने अवसर पाइन्। उनले गाएका गीत जताततै बज्न थाले।

मनुले लिम्बूसँगै नेपाली भाषाका गीत पनि गाउन थालिन्। त्यो बेला उनलाई नेपाली राम्ररी बोल्न आउँदैन थियो। कतिपय शब्दको उच्चारण बिग्रिन्थ्यो। तैपनि सिक्दै, गाउँदै गइन्।

नेपाली भाषामा पालाम गाउँदा उनलाई केहीले आपत्ति पनि जनाए। उनलाई भने नेपालीमा पालाम गाउँदा अरू समुदायका मान्छेले पनि बुझ्छन्, राम्रो होला भनेर लागेको थियो।

‘नगाऊ भनेपछि मैले सम्झाउने धेरै प्रयास पनि गरिनँ। पछि आफैं बुझ्नुहुन्छ भनेर छाडिदिएँ,’ उनले भनिन्।

लिम्बू समुदायमा उनको नाम चर्चित कलाकारको सूचीमा पर्न कुनै समय लागेन। सर्वत्र चर्चा भए पनि मनुले त्यो बेलासम्म गाएको पारिश्रमिक पाएकी थिइनन्। गीत-संगीत मात्र गरेर जीवन नधानिने देखेपछि उनले आयमूलक काम गर्ने सोचिन्। एक जना चिनजानका दाइले उनलाई ऊन (धागो) बाट्ने काममा लगाइदिए।

त्यहाँ उनले एक किलो ऊन बाटेको दुई रूपैयाँ पाउँथिन्। बस्न पैसा पर्दैन थियो, खानाको दिनुपर्थ्यो। अरूले दिनमा १५ किलो ऊन बाट्दा मनु मुस्किलले दुई किलो बाट्थिन्। महिना बित्दा खानाको पैसा पनि तिर्न पुगेन। उनले काम छाडिन्।

अनि तिनै दाइले उनलाई होटलमा काम लगाइदिए। ६ महिना होटलमा काम गर्दा उनले मःम, चाउमिन लगायत परिकार बनाउन सिकिन्। उनलाई यत्ति काम त म आफ्नै होटलमा गर्न सक्छु भन्ने लाग्यो। अनि २०५६ सालमा होटल खोलिन्।

‘एउटा टेबलबाट सुरू गरेकी थिएँ। अहिले धेरै जना आउनुहुन्छ। यहाँको खाजा सस्तो छ, मीठो छ,’ मनुले भनिन्।

 

 

मनुले गायनबाट पहिलोपटक पारिश्रमिक पाएको भने २०५७ सालमा मात्र हो। धनवीर साँवाको गीतबाट उनले पाँच हजार रूपैयाँ पाएकी थिइन्। त्यो पैसा पाउँदा आत्तिएर ‘आम्मा यत्रो पैसा’ भनेको उनी सम्झिन्छिन्। अझ तीन हजार फिर्ता गरेर दुई हजार रूपैयाँ मात्र लिएको उनले बताइन्।

होटल चल्दै र गायनबाट पनि पैसा पाउँदै जाँदा उनको आर्थिक पाटो सुध्रिँदै गयो। आफ्नै लगानीमा एल्बम निकाल्न थालिन्। एल्बमबाट पनि कमाइ भयो। स्टेज कार्यक्रमहरूमा त उनको दबदबा नै थियो। जता पनि उनलाई निम्तो आउँथ्यो।

प्रविधिले फड्को मारेपछि एल्बमहरू बिक्न छाडे। लिम्बू भाषामा गाउने नयाँ अनुहार थपिँदै गए। मनुको कमाइ सुक्दै गयो। त्यसपछि उनले होटललाई नै व्यवस्थित तरिकाले अगाडि बढाइन्।

‘मैले दस-बाह्र वर्षअगाडि १७ लाख खर्च गरेर ‘पामा’ एल्बम बनाएकी थिएँ। तर त्यही बेलादेखि सिडी बिक्न छाडे। त्यो पैसा जग्गामा हालेको भए म करोडपति हुन्थेँ होला,’ उनले हाँस्दै भनिन्।

मनुलाई लिम्बू गीत गाउँदैमा कलाकार बनिँदैन भन्नेहरू पनि थिए। गायनकै कमाइले जीवन गुजारा हुँदैन भन्ने पनि उनलाई थाहा थियो। अहिले पनि मूलधारका कतिपय गायकले भन्दा धेरै गीत गाइसकेकी मनुको दैनिकी भने होटलकै भरमा चलेको छ।

उनी थप्छिन्, ‘कार्यक्रमहरूमा मूलधारका गायकलाई दुई लाख रूपैयाँ दिँदा हामीलाई १५ हजार दिन्छु भन्छन्। कतिपयले त आफ्नै समुदायको कार्यक्रम भनेर पारिश्रमिकको कुरा समेत निकाल्दैनन्। केही कलाकारले पैसा कमाए होलान्! तर हामीजस्ता कलाकार बिरामी मात्र परे पनि चन्दा उठाउनुपर्छ। मृत्यु भए पनि चन्दै उठाएरै दाहसंस्कार गर्नुपर्छ।’

दुःख र मेहनतअनुसारको पारिश्रमिक नपाएको मात्र उनको गुनासो हो। नभए संगीत क्षेत्रबाट कमाउँछु नै भनेर आफूले कहिल्यै नसोचेको उनी बताउँछिन्।

‘मैले जातीय पहिचानका गीत गाएर धन कमाउँछु भनेर सोचेकै छैन। कतिलाई मनुले कमाइ भन्ने होला, तर मसँग केही छैन। म आफ्नो समुदायको पहिचान अगाडि बढाउनै लागि परेकी छु। पैसा नकमाए पनि पालाम जोगाएकी छु भन्ने सुन्तष्टि छ,’ उनले भनिन्।

संगीत क्षेत्रमा आफ्नो ठूलो उपलब्धि नै यही मान्छिन् उनी। लामो समयसम्म पालाम गाउने उनी एक्लै थिइन्। अहिले नयाँ गायक छन्। तर नयाँ सिर्जना नआएको मनु बताउँछिन्। संस्कृति जगेर्नाभन्दा पनि रहरले आएका गायक लामो समय यो क्षेत्रमा नरहलान् भन्ने उनलाई लाग्छ।

लिम्बू भाषाका गीत गाउँदै उनी संसारका १५ वटाभन्दा बढी देश पनि पुगिसकेकी छन्। आफ्नो भाषा र संस्कृति प्रवर्द्धन गर्न पाउँदा सन्तुष्टि मिलेको उनले बताइन्। र, यो यात्रा सकुञ्जेल गरिरहने मनु बताउँछिन्।

‘म गीत-संगीतबाटै मनु नेम्वाङ भनेर चिनिएँ। आफ्नो भाषा र संस्कृति चिनाउन पाएँ। यसमै खुसी छु,’ उनले भनिन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34