रुस-युक्रेन युद्ध : लमजुङका साजन गुरुङको मृत्यु
रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु भएको छ । लमजुङको दुधपोखरी गाउँपालिका-१, घमारचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।
![रुस-युक्रेन युद्ध : लमजुङका साजन गुरुङको मृत्यु](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2024/third-party/sajan-gurung-1-1612024113958-1000x0.jpg&w=1000&h=0)
मृतकका बुबा श्रीमान गुरुङका अनुसार पुस १६ गते राति ८–९ बजेतिर अन्तिम भिडियो कल भएको र त्यसपछि सम्पर्क हुन नसकेकोमा एकाएक सामाजिक सञ्जालमा आफ्नो छोराको मृत्यु भएको खबर सार्वजनिक भएको बताए । उनका अनुसार छोरा साजनसँग २ सेकेन्डमात्रै कुरा गर्न पाएको र त्यसपछि फोन काटिएको र पटक पटक सम्पर्क गरे पनि सम्पर्क हुन सकेन ।
रुसी सेनामा भर्ना भएका उनका साथीहरूले जर्मनमा रहेका साजनका भाइ कुमारलाई खबर पठाएपछि कुमारले गाउँमा साजनको मृत्यु भएको खबर पठाएका थिए ।
उनका अनुसार गाउँमा कसैको मृत्यु भएपछि जुठो हुने भएकाले गाउँलेलाई जुठो फुकाउन पुस २९ गते काजकिरिया समेत गरिसकिएको छ । मृतक साजनका श्रीमती र एक छोरा छन् । गाउँमा बुबाआमा छन् ।
रोजगारीका लागि असोज २ गते माल्टा जान्छु भनी गएका साजन रुसी सेनामा पुगेको परिवारलाई पछिमात्रै थाह भएको श्रीमान गुरुङले बताए । उनको मृत्युपछि गाउँ शोकाकुल बनेको वडाअध्यक्ष दुर्गामान गुरुङलले बताए ।