KFGVRFI34

सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

0

राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर रास्वपाका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

ज्ञापनपत्र बुझाउँदै रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरेकी थिइन् । उनले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिब १० हजार सात सय ४५ दुर्घटना भएको प्रहरीको तथ्यांक उल्लेख गरेकी थिइन् । यी दुर्घटनामा ९ सय १६ जनाले ज्यान गुमाएका र २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको उनको भनाइ थियो । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्यांक आफूले पाएको पनि श्रेष्ठको भनाइ थियो ।

‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो कि ?,’ श्रेष्ठले भनिन्, ‘यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिब १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९ सय १६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’

रास्वपाको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताएका थिए । सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको मन्त्री ज्वालाले जानकारी दिए । घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने पनि उनले प्रस्ट पारे ।

‘हामी यसमा गम्भीर छौँ र तपाईंले दिएको सुझाव र प्रश्नहरूको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ । मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ । समस्याप्रति हामी गम्भीर छौँ,’ मन्त्री ज्वालाले भने, ‘राजनीतिक दल, संसद् र संसदीय समितिले पनि आवश्यक सहयोग गर्नुपर्छ । घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ । सडकलाई खाल्डाखुल्डीरहित बनाएर हुन्छ कि सडक सुधारका कामलाई तिव्रता दिएर हुन्छ, सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ चालकलाई प्रशिक्षण दिएर हुन्छ, समस्या निराकरण गर्ने कुरामा गम्भीर छौँ ।’

रास्वपाले सडक दुर्घटनाको डरलाग्दो आँकडा र भयावह दृश्य दोहोरिँदा पनि सरकारले त्यसको निराकरणका लागि गम्भीर कदम नचालेको हो कि भनेर सरकारलाई प्रश्न गरेको छ । सरकारबाट रास्वपाले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गर्न र पटक-पटक गठन गरिएका कार्यदलले दिएका प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै, चालक अनुमति पत्र (लाइसेन्स) मा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्नेगरी नीतिगत सुधार किन गर्न सकिएको छैन ? सरकारले कहिलेसम्म गर्ने योजना बनाएको छ ? भन्ने पनि प्रश्न सरकारलाई रास्वपाले गरेको छ । रास्वपाले मन्त्री ज्वालालाई बुझाएको पत्रमा ‘सडक सुरक्षा परिषद् किन प्रभावकारी हुन सकिरहेको छैन ? परिषद्‌मार्फत सडक पूवार्धार, सवारी साधनको अवस्था, नियम- कानुनको पालना, उद्धार, सडक प्रयोगकर्ताको अनुशासनलगायत विषयलाई वैज्ञानिक ढंगले अध्ययन गरी कार्यान्वयन गर्न/गराउन किन विलम्ब भइरहेको छ ?’ भन्ने प्रश्न पनि रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34