KFGVRFI34

‍निफमा ४० देशका ८८ फिल्म प्रदर्शन हुने

0

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैत १-५ सम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गरेको हो ।

‍निफमा ४० देशका ८८ फिल्म प्रदर्शन हुने

६० देशका ५०० भन्दा बढी फिल्महरुमध्येबाट ४० देशका ८८ फिल्म देखाइने तयारी छ । ‘निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ,’महोत्सवका अध्यक्ष केपी पाठकले भने,’तर निरन्तरता दिने हिसाबले आर्थिक रुपमा यसले चुनौतीको सामना गरिरहनु परिरहेको छ । यो पक्षका लागि सबैसँग सहयोगको अपेक्षा राखेका छौँ ।’

अघिल्लो वर्ष ‘प्रकाश’बाट निफमा पपुलर एक्टरको अवार्ड उचालेका प्रदीप खड्काले कार्यक्रममा फिल्मलाई संस्कृति मन्त्रालयको मातहतमा राखिनुपर्ने धारणा राखे । ‘चलचित्र क्षेत्रलाई सञ्चारमन्त्रालय अन्तर्गत राखेर हेर्दा यसको सामार्थ्य खुम्चिएको हो कि भन्ने लाग्छ । यसैलाई संस्कृति मन्त्रालय अन्तर्गत राखेर हेर्ने हो भने यसको बुझाइमा फरक पर्थ्यो कि,’प्रदीपले भने ।

निफले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई विधासँगै लघु फिल्म र वृत्तचित्रतर्फ पनि अवार्ड वितरण गर्नेछ । त्यस्तै, महोत्सवमा फिल्म निर्माणका विभिन्न विधामा कार्यशाला, छलफल र अन्तर्क्रिया हुनेछ भने महोत्सवमा छनौट भएका फिल्म क्यूएफएक्स सिनेमाजका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका देखाइने व्यवस्थालाई निरन्तरता दिने जनाइएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहित गौतमबुद्ध अवार्ड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एकलाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’सँगै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै, यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यो वर्षबाट ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा पनि अवार्ड वितरण गरिने जनाइएको छ ।

प्रकाशित : माघ ३, २०८० १४:१५

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34