KFGVRFI34

भण्डारीले बुनेको खरायोको टोपी जुन नेपालमा लोकप्रिय छ।

0

जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका ३४ वर्षीय कालीबहादुर भण्डारी पेसाले शिक्षक हुन्। उनी शिक्षण पेसामा लागेको ११ वर्ष भइसकेको छ। उनी अहिले नमुना खरायोपालक किसान पनि हुन्।

भण्डारीसँग ५५ वटा खरायो छन्। सबै खरायो अंगुरा जातका छन्। उनी खरायोको ऊनबाट टोपी बुन्छन्। यो टोपी जातिभिड गाउँकै पहिचान र जिल्लाको सान बनेको छ।

उनका गाउँमा एक सय ६३ घरधुरी छन्। हरेक घरमा २० देखि ३० वटासम्म खरायो पालिएको छ। खरायोको ऊनबाट टोपी बुन्ने गरिन्छ।

भण्डारीले खरायो पाल्न थालेको २२ वर्ष पूरा भइसकेको छ। चारवटा खरायोको ऊनबाट एउटा टोपी तयार हुन्छ। उनी घरबाटै प्रति टोपी तीन हजार पाँच सय रुपैयाँका दरले बेच्दै आएका छन्।

भण्डारी सबैभन्दा पहिला ग्राहकको भनाइअनुसार कागजमा नमुना कोर्छन्। ग्राहकले सहमति दिएपछि टोपी तयार बुन्न थाल्छन्। एउटा टोपी तयार गर्न दुई दिन लाग्छ।

१४ वर्षको उमेरदेखि निगालोको सुइन बनाएर स्वीटर च्याती धागो निकाली पञ्जा, मोजा र टोपी बुन्ने गरेको भण्डारीले बताए। उनी भन्छन्, ‘बुबा पनि टोपी बुन्नुहुन्थ्यो। मैले टोपी बुन्न थालेपछि बुबाले पनि सिकाइदिनुभयो।’

कक्षा ८ मा पढ्दादेखि टोपी बुन्न सिकेको उनी बताउँछन्। पहिलोपटक खरायोको ऊनबाट टोपी बुनें, अहिले उनी अरूलाई पनि टोपी बुन्ने तालिम सिकाउँछन्।

पहिलोपटक खरायोको टोपी बजारमा लैजान पाउँदा धेरै खुसी लागेको उनले बताए। उनी भन्छन्, ‘राम्रो मूल्य पाएपछि लगातार बुने काम गरें। पछि व्यावसायिक रूपमा खरायोपालनमा लागें।’

भण्डारीको आम्दानीको बलियो स्रोत बनेको छ खरायोको टोपी । उनी एक महिनामा ६ देखि सातवटा टोपी तयार पार्छन्। यसबाट मासिक न्यूनतम २५ हजार रुपैयाँ कमाइ हुन्छ । वार्षिक दुई लाख ५० हजार बढी रुपैयाँ कमाउने गरेको उनले बताए।

कालीबहादुरले टोपी बेचेर कमाएको १५ लाख रुपैयाँ बैंकमा मौज्दात छ। त्यति धेरै दुःख नगरी मोटो रकम कमाउँदा खुसी लाग्ने गरेको उनी बताउँछन्। भण्डारी भन्छन्, ‘मेरो शिक्षण पेसाको मासिक ३४ हजार नौ सय एक रुपैयाँ आउँछ। त्यो रकम घरायसी कार्य जस्तो– नुन, तेल र बालबालिकाका लागि स्कुल पोसाक, कापीकलम, खाजामा खर्च हुन्छ। हाम्रो नौजनाको परिवार छ तर अरुसँग ऋण माग्नुपरेको छैन।’

शिक्षण पेसाका साथै टोपी बुन्ने सीपबाट पनि आफूलाई उत्तिकै सन्तुष्टि मिलेको भण्डारीले बताए। उनी भन्छन्, ‘हातमा सीप भएपछि मागेर खानु पर्दैन।’

गाउँमा हुने शुभकार्य, आगन्तुक, सदरमुकाम खलंगामा हुने बिदाइ तथा सम्मान कार्यक्रममा आउने अतिथिका लागि सौजन्यस्वरूप खरायोको टोपी किनेर लैजाने गर्छन्। जुम्ला पुग्ने सेनादेखि सरकारी स्तरका माथिल्लो तहका उच्च अधिकारीलाई खरायोको टोपीले स्वागत गरिन्छ। कतिसम्म भने जुम्लामा बुनेका खरायोको टोपी प्रधानमन्त्रीसम्म पुगिसकेको उनी बताउँछन्।

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ। टोपीका लागि कालो र सेतो रङको खरायो पालिन्छ। ‘टोपीको माग सबैतिर छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन। खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ’, उनले भने, ‘सबैभन्दा बढी काठमाडौं, भैरहवा र नेपालगन्जमा खरायोको टोपीको माग छ। विदेशी पर्यटक पनि खरायोको टोपी लैजाने गर्छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34