सरकारसँग परामर्श लिदै लुम्बिनी प्रदेश, केन्द्र सरकारले दिन्छ होला अनुमति ???
लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ । केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि लुम्बिनीसहितका सबै प्रदेश सरकारहरुलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् । त्यसका लागि यही माघ महिनामा सातै प्रदेशका यातायात मन्त्रीहरुसँग छलफल गर्ने सोच बनाएको पनि उनले सुनाए ।
मंगलबार सिंहदरबारमा लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा र सचिव उमेश ढुंगानासँगको छलफलमा मन्त्री ज्वालाले सो कुरा बताएका हुन् । भेटमा मन्त्री थापाले सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र सहज र छिटो दिलाउनुपर्ने भन्दै आफैं लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाउन चाहेको बताएका थिए । हाल यातायात व्यवस्था विभागमा मात्र लाइसेन्स छापिन्छ र वितरणका लागि जिल्लाहरुमा पठाइन्छ । यदि प्रदेश सरकारले पनि लाइसेन्स छापेर वितरण गर्ने हो भने काठमाडौंको चाप घट्ने र सेवाग्राहीले पनि छिटो र सजिलै लाइसेन्स पाउने मन्त्री थापाको भनाइ थियो । त्यसैले परामर्श गर्न आफू आएको उनले बताए ।
त्यसपछि मन्त्री ज्वालाले केही प्रदेशहरुले आफैं लाइसेन्स छाप्ने र वितरण गर्ने भनेर प्रक्रिया अघि बढाएको भन्दै लुम्बिनीलाई पनि मेसिन खरिदको प्रक्रिया अघि बढाउन भनेका थिए । ‘तपाईंहरु आफैं लाइसेन्स छाप्न मेसिन किन्ने तयारी गर्नुस्, केही सहयोग चाहिए म सहयोग गर्न तयार छु भनेर मन्त्रीज्युले भन्नुभयो,’ भेटमा सहभागी लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाले भने ।
मन्त्री ज्वालाले लाइसेन्सको ट्रायल आफ्नै सवारी साधनबाट दिन पाउने व्यवस्था गर्न लुम्बिनी प्रदेशको यातायात व्यवस्था मन्त्रालयले सुरु गरेको पहलको सह्राना समेत गरेका थिए । साथै उनले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन कसरी सकिन्छ भन्ने विषयमा माघ महिनामै सातै प्रदेशका यातायात मन्त्रीहरूसँग संयुक्त छलफल गर्ने पनि बताएको ढुंगानाले जानकारी दिए ।
हाल बागमती र मधेश प्रदेश सरकारले आफैं लाइसेन्स छाप्ने प्रक्रियाका लागि मेसिन खरिदको प्रक्रिया अघि बढाएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले प्रदेश सरकार आफैंले लाइन्सेन्स छापेर वितरण गर्ने काममा कुनै प्राविधिक सहयोग चाहिए सहयोग गर्ने बताए ।
यो काममा कुनै कानुनी अड्चन नभएको बताउँदै उनले भने, ‘यदि उहाँहरु आफैंले लाइसेन्स छाप्नु हुन्छ भने त्यो काममा प्राविधिक लगायतका सबै सहयोग गर्न यातायात व्यवस्था विभाग तयार छ ।’