कुन कलेजमा कति सिट खाली ?पढाइ सुरु हुँदा समेत इन्जिनियरिङमा विद्यार्थी पुगेनन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को स्नातक तह बीई/बीआर्कको नयाँ शैक्षिक सत्र भएको छ । आईओईको एकीकृत भर्ना प्रणालीको तथ्याङ्क अनुसार शैक्षिक सत्र २०८०/८१ मा कुल भर्ना क्षमतामध्ये हालसम्म ३,२४५ (७४.७ प्रतिशत) विद्यार्थी मात्रै भर्ना भएका छन् । यस कुराले त्रिवि अन्तर्गतका इन्जिनियरिङ कार्यक्रममा विद्यार्थी अपुग भएको देखाउँछ ।
आईओई पदाधिकारीहरू भने यस शैक्षिक सत्रको भर्ना दर विगतका वर्षको जस्तै रहेको बताउँछन् । करिब पाँच लाख शुल्क बढेपनि आईओईमा विद्यार्थीको आकर्षण नघटेको उनीहरूको तर्क छ ।
आईओई प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीमात्र स्नातक तहमा भर्नाका लागि योग्य हुन्छन् । हरेक वर्ष हुने प्रवेश परीक्षामा प्राय: कुल भर्ना क्षमताभन्दा बढी विद्यार्थीहरू सहभागी हुन्छन् । उत्तीर्ण विद्यार्थी संख्या पनि क्षमताभन्दा बढी नै हुन्छ । यो वर्षको प्रवेश परीक्षामा ९,७७१ जना सहभागी हुँदा ६, ७२१ परीक्षार्थी उत्तीर्ण भएका थिए ।
तर विगत छ वर्षको तथ्याङ्क हेर्ने हो भने आईओईले कहिल्यै पनि पूर्ण क्षमतामा विद्यार्थी पाउन सकेको देखिँदैन । यसको कारण आङ्गिक क्याम्पसहरू नभएर सम्बन्धनप्राप्त कलेजहरू भएको आईओईका एक अधिकारीले बताए । उनका अनुसार सम्बन्धनप्राप्त कलेजहरूमा ठूलो मात्रामा विद्यार्थी भर्ना हुँदैनन् । त्यसको असर आईओईको कुल विद्यार्थी भर्ना दरमा परिरहेको छ ।
शैक्षिक सत्र |
विद्यार्थी क्षमता |
अन्तिम भर्ना दर |
कैफियत |
२०७५ |
४,१७६ |
३,३८४ (८१.००%) |
|
२०७६ |
४,२४८ |
३,६३८ (८५.६४%) |
|
२०७७ |
४,२४८ |
३,६५५ (८६.०४%) |
|
२०७८ |
४,३४४ |
३,६८० (८४.७१%) |
|
२०७९ |
४,३४४ |
३,२८४ (७५.६०%) |
|
२०८० |
४,३४४ |
३,२४५ (७४.७०%) |
पूर्ण हुन बाँकी |
विगत ६ वर्षको विद्यार्थी भर्ना दर तथ्याङ्क, स्रोत-आईओई
आङ्गिक कलेजमा भन्दा सम्बन्धनप्राप्त कलेजमा विद्यार्थी कम
यस वर्ष हालसम्म भर्ना भएका विद्यार्थीको तथ्याङ्क हेर्दा आङ्गिकभन्दा पनि सम्बन्धनप्राप्त कलेजहरूमा विद्यार्थीको भर्ना दर कम देखिन्छ । आङ्गिक कलेजहरूमा हालसम्म १४९ विद्यार्थी सिट खाली छ भने सम्बन्धनप्राप्त कलेजहरूमा ९५० विद्यार्थी भर्ना हुन बाँकी छन् ।
आङ्गिक क्याम्पसहरूमध्ये पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सबैभन्दा बढी ६७ कोटा खाली छ । यस क्याम्पसमा मेकानिकलमा ३४, एग्रिकल्चरमा ३१, इलेक्ट्रिकल र सिभिलमा १/१ विद्यार्थी भर्ना हुन बाँकी छन् ।
त्यसपछि क्रमश: पश्चिमाञ्चल, थापाथली र पुल्चोकमा विद्यार्थी सिट खाली छ ।
यता सम्बन्धनप्राप्त कलेजहरूमध्ये कुल विद्यार्थी क्षमता २८८ भएको कान्तिपुर इन्जिनियरिङ कलेजमा सबैभन्दा बढी १९५ कोटा रिक्त छन् । हाल यो कलेजले तीन ओटा इन्जिनियरिङ विषय अध्यापन गराइरहेको छ । जसमध्ये इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड इन्फर्मेसनको कोटा ९६ रहेको छ । जसमा हालसम्म एक जना पनि विद्यार्थी भर्ना हुन आएका छैनन् । त्यसपछि क्रमश: ९६ सिट भएको सिभिलमा ७६ र ९६ नै सिट भएको कम्प्युटरमा २३ जना विद्यार्थी पढ्न आएका छैनन् ।
कान्तिपुरपछि धेरै सिट खाली हुने कलेजहरूमा क्रमश: जनकपुर इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, एड्भान्स इन्जिनियरिङ कलेज, हिमालय इन्जिनियरिङ कलेज, क्याथफोर्ड इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियर कलेज, सगरमाथा इन्जनियरिङ कलेज, नेस्नल इन्जिनियरिङ कलेज र ख्वप इन्जिनियरिङ कलेज रहेका छन् ।
त्यसमा पनि अझै गहिरिएर हेर्ने हो भने चितवन इन्जिनियरिङ क्याम्पसबाहेक अन्य कुनै पनि कलेजले क्षमता अनुसारका विद्यार्थी पाएका छैनन् ।
तर भर्नाको अवधि करिब दुई हप्ता बाँकी रहेकाले केही कलेजहरूले क्षमता अनुसार विद्यार्थी पाउनसक्ने सम्भावना रहेको आईओई पदाधिकारी बताउँछन् ।
त्यस्तै विषयगत कुरा गर्दा यसपटक ‘इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन’, ‘अटोमोबाइल’, ‘इलेक्ट्रिकल’ जस्ता इन्जिनियरिङ विषयमा विद्यार्थी कम भर्ना भएको देख्न सकिन्छ । कम्प्युटर इन्जिनियरिङमा भने विद्यार्थीको रुचि बढेको पाउन सकिन्छ ।
क्याम्पसको नाम |
भर्ना क्षमता |
खाली सिट |
भर्ना संख्या |
प्रतिशत |
पुल्चोक |
६२४ |
२ |
६२२ |
९९.६७ |
थापाथली |
४३२ |
२१ |
४११ |
९५.१३ |
पश्चिमाञ्चल |
४३२ |
५९ |
३७३ |
८६.३४ |
पूर्वाञ्चल |
५२८ |
६७ |
४६१ |
८७.३१ |
चितवन |
२४ |
० |
२४ |
१०० |
काठमाडौं |
३८४ |
१५० |
२२४ |
६०.९३ |
कान्तिपुर |
२८८ |
१९५ |
९३ |
३२.२९ |
सगरमाथा |
१४४ |
२८ |
११६ |
८०.५५ |
एड्भान्स |
३३६ |
१४६ |
१९० |
५६.५४ |
हिमालय |
२४० |
११४ |
१२६ |
५२.५ |
नेस्नल |
२४० |
२५ |
२१५ |
८९.५८ |
ललितपुर |
९६ |
२९ |
६७ |
६९.७९ |
क्याथफोर्ड |
१९२ |
८८ |
१०४ |
५४.१६ |
जनकपुर |
१९२ |
१५९ |
३३ |
१७.१८ |
ख्वप |
१९२ |
१६ |
१७६ |
९१ ६६ |
जम्मा विद्यार्थी भर्ना (संख्या) |
३२४५ |
|||
जम्मा विद्यार्थी भर्ना (प्रतिशत) |
७४.७० |
२ माघसम्मको कलेज अनुसार भर्ना दर (शीर्ष पाँच कलेज आङ्गिक हुन्), स्रोत- आईओई
के यही अन्तिम तथ्याङ्क हो ?
प्राय: विश्वविद्यालयहरूले प्रवेश परीक्षा लिएपछि एकै पटकको भर्नामा कक्षामा सुरु गर्दैनन् । प्रवेश परीक्षामा सहभागी विद्यार्थीले धेरै विषय र कलेजहरू चयन गर्ने भएकाले विभिन्न चरणको भर्ना प्रक्रियापछि मात्र कक्षा सुरु हुन्छ ।
आईओईले पनि सोही प्रक्रियापछि मात्र कक्षा सुरु गर्ने गरेको प्रवेश परीक्षा बोर्डका अध्यक्ष तथा सहायक डीन प्राडा. सुशील बहादुर बज्राचार्य बताउँछन् । त्यसो हुँदा स्नातक तहको नयाँ ब्याचको कक्षा सुरु भएता पनि आईओईले माघ १७ गतेसम्म भर्ना कार्यक्रम सञ्चालन गर्नेछ । जुन कुरा आईओईको भर्ना सञ्चालन कार्यविधि २०८० मा उल्लेख छ । त्यसो हुनाले रिक्त विद्यार्थी सिटमा विद्यार्थी आउनसक्ने बज्राचार्य सुनाउँछन् ।
“कक्षा सञ्चालन भएपछि पनि भर्ना भएका विद्यार्थी नआउन सक्छन्, अथवा विद्यार्थीहरू पूर्ण शुल्कीयबाट नियमितमा सर्न सक्छन्,” उनले भने, “त्यस्तै कारणवश भर्ना हुन छुटेका विद्यार्थीहरू आउन सक्छन् । यसकारण रिक्त रहेका स्थानहरूमा सम्बन्धित क्याम्पसहरूले १७ माघभित्र नयाँ भर्ना लिन सक्छन् । त्यसपछि जति विद्यार्थी भर्ना हुन्छन्, उक्त विवरण नै यस वर्ष अन्तिम भर्ना विवरण हुनेछ ।”