KFGVRFI34

सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागी आईपीओ जारी गर्ने भएको छ ।

0

नेपालमा पहिलो पटक बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ – ५० कित्ता आवेदन दिनै पर्ने,प्रति कित्ता ३६१ रुपैयाँ मूल्य - Arthik Sandesh

योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै, सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको हो ।

अब तेस्रो चरणमा कम्पनीका कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरीएको छ । यी वाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

बुक विल्डिङ विधिमार्फत विक्रीमा आएको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । यो  आईपीओ विक्री अवधि छिटोमा फागुन १६ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलो अवधि फागुन २७ गतेसम्म विक्री लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ । गत आर्थिक वर्ष ०७९/८० को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको जगेडा तथा कोषमा ३ अर्ब ४५ करोड ६९ लाख रूपैयाँभन्दा बढी सञ्चित रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ रूपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ १८५ रूपैयाँ ३६ पैसा छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34