KFGVRFI34

१७ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो,

0

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

 

आइतबार नेप्से परिसूचक १७.३० अंक घटेर २०१८.३३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६७ हजार ४४ पटकको कारोबारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पछिल्ला कारोबार दिनमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको शेयर यस दिन भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य १०८ रुपैयाँ २० पैसा घटेर ९७४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। यता, माया खोला हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको साढे १२ करोडको शेयर कारोबार भएको छ भ ने शिवम् सिमेन्टको साढे ११ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१२ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.६५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34