KFGVRFI34

रास्वपाका उपाध्यक्ष डिपी अर्याल पनि ‘सहकारी ठगी’मा मुछिए,

0

रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागिरहेको बेला रास्वपाका उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याललाई पनि सहकारी ठगीको आरोप लागेको छ ।

संघिय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोड रुपैयाँ बढी रकम फिर्ता पाएनन्। सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई गत माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ। रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सो सहकारीको सञ्चालक थिए। अर्याल उपाध्यक्ष हुँदा सहकारीको अध्यक्ष चाँही सूर्य गुरुङ थिए।

अर्याल उपाध्यक्ष छँदै २६ जना निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै आवेदन दिएका थिए। सहकारीबाट रकम नपाएपछि निक्षेपकर्ताले सहकारी विभागमा उजुरी दर्ता गराएका थिए। सहकारीको उपाध्यक्ष रहँदा रास्वपाका अध्यक्ष लामिछानेका तत्कालीन व्यवसायी साझेदार जिबी राईलाई सहकारीमा भित्र्याएर २०७९ मा अर्याल बाहिरिएका थिए। राजनीतिमा सक्रिय भएपछि उनले सहकारी छाडेका थिए।

डिपीजीले नै जिबी राईलाई सहकारीमा ल्याउनुभयो,’ एक सञ्चालकले भने, ‘उहाँ छँदै सहकारी समस्यामा परेको थियो।’ सूर्य गुरुङको कार्यकाल बाँकी छँदै जिबी राई आएपछि गुरुङले सहकारीको सञ्चालक समिति छाडेका थिए।

सहकारी ऐन, नियम, मूल्यमान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क), देखि (च) सम्मको विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम हाम्रो नयाँ कृषि सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको मन्त्रालयले जनाएको छ।

‘हाम्रो नयाँ कृषि सहकारी संस्था’मा ३४ जनाको करिब चार करोड रुपैयाँ बढी निक्षेप फिर्ता नपाएको भन्दै उजुरी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए। ‘अनुसन्धानका लागि सहकारीका कागजात नियन्त्रण गरेर सिल गरेका छौं,’ सदस्य सचिव पौडेलले भने, ‘अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ।’

जिबीलाई ल्याएपछि अर्यालको टिम सहकारीबाट बाहिरिँदा पीडितले सहकारीको निक्षेप फिर्ता पाउनुपर्ने भन्दै विभागमा उजुरी दर्ता गरेका थिए। सहकारीमा आफू उपाध्यक्ष बसेको रास्वपा उपसभापति तथा श्रममन्त्री अर्यालले स्वीकार गरे।

‘हाम्रो नयाँ कृषि सहकारी म उपाध्यक्ष भएको थिएँ,’ अर्यालले भने, ‘मेरो २३ लाख रुपैयाँ लगानी पनि छ।’ आफू सहकारीको उपाध्यक्ष भए पनि कुनै कारोबार नगरेको र २०७९ सालमा त्यहाँबाट बाहिरिएको अर्यालले बताए। ‘राजीनामा दिएर सहकारीबाट बाहिरिएको हुँ,’ अर्यालले भने, ‘सहकारीमा हुँदा कुनै समस्या थिएन।’ अर्यालको दाबी सहकारी निक्षेपकर्ता स्वीकार गर्न तयार छैनन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34