KFGVRFI34

लघुवित्त र लघु बीमा कम्पनीको आईपीओ निष्काशन,

0

अधिकांश वित्तीय संस्था र बीमा कम्पनीको आईपीओ निष्काशन भइसकेको छ । अझै पनि पछिल्लो समय अनुमति लाइसेन्स दिएका केही लघुवित्त र लघु बीमा कम्पनीको आईपीओ निष्काशन भने बाँकी नै रहेको छ ।

नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा स–साना ऋण प्रवाह गर्ने गरी लघुवित्त कम्पनीको सञ्चालन अनुमति दिएजस्तै गत वर्ष मात्रै नेपाल बीमा प्राधिकरणले पनि लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले जीवन बीमातर्फ लघु बीमा गर्ने अख्तियारीसहित ३ वटा कम्पनी र निर्जीवन लघुबीमा गर्ने गरी ४ वटा कम्पनीलाई अनुमति प्रदान गरेको थियो ।

सञ्चालनमा रहेका ७ लघुबीमा कम्पनीमध्ये ५ कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराइसकेका छन् ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले फागुन १६ गते सम्पन्न साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले गत चैत्र २ गते साधारण सभा सम्पन्न गरे पनि आइपीओ निष्काशनको एजेन्डा प्रस्तावमा थिएन ।

त्यस्तै स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले फागुन २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे छ । ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने गत आर्थिक वर्षको साधारण सभा बोलाएको छैन । ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने गत चैत्र ९ गतेबाट बल्ल कारोबार शुरु गरेको हो ।

नेपाल बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघु जीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।

लघु जीवन बीमा ब्यवसाय तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

त्यस्तै, लघु निर्जीवन बीमा ब्यवसाय तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

यता लघुवित्ततर्फ अझै दुई कम्पनीले आईपीओ निष्काशन गर्न बाँकी रहेको छ । तुल्सीपुर, दाङ केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्था र लाहान, सिरहा केन्द्रीय कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले मात्रै आईपीओ निष्काशन गर्न बाँकी रहेको छ । त्यसमध्ये स्वस्तिक लघुवित्तले आइपीओ निष्काशनको लागि शेयर निष्काशक तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले गत माघ २४ गते धितोपत्र बोर्डमा ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न आवेदन समेत दर्ता गरिसकेको छ । कम्पनीको १ करोड २० लाख कित्ता चुक्ता पुँजी रहेकोमा आईपीओ निष्काशन पश्चात चुक्ता पुँजी २ करोड रुपैयाँ पुग्नेछ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरीय लघुवित्त हो ।

स्वस्तिकपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन जिम्मा लिएको सुपर लघुवित्त वित्तीय संस्थाको मात्रै आईपीओ निष्काशन हुन बाँकी रहेको छ । तुल्सीपुर, दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्तको चुक्ता पुँजी १ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै ख वर्गको विकास बैंकहरुमध्ये सालपा विकास बैंकले पनि अहिलेसम्म आईपीओ निष्काशन गर्न सकेको छैन । दिक्तेल, खोटाङ केन्द्रीय कार्यालय रहेको सालपा विकास बैंकको ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34