KFGVRFI34

बुटवल उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख अटोरिक्सा चालकबाट कुटिए,

0

बुटवल उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख अटोरिक्सा चालकबाट कुटिएका छन्। अटोरिक्सा चालकहरूले नगर प्रहरी प्रमुख जयश्वर पाण्डेमाथि कार्यालयमै कुटपिट गरेका हुन्।

उपमहानगरमा अटोरिक्सा दर्ता गर्न दबाब दिन गएका चालकहरूको समूहले पाण्डेमाथि हातपात गरेको उपमहानगरपालिका स्रोतले बताएको छ।

उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन भन्दै पुगेका अटोरिक्सा चालकहरूको कुटपिटबाट पाण्डे घाइते भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

घाइते पाण्डेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको नगर प्रमुख पाण्डेयले बताए।

‘म कार्यालयमा थिइनँ। अटोरिक्सा चालकको एउटा समूह ज्ञापनपत्र बुझाउन गएको रहेछ। त्यही समूहले हातपात गरेको रहेछ,’ पाण्डेयले भने।

नगर प्रहरी प्रमुख पाण्डेको छातीमा चोट लागेको र बोल्न असहज भएको भनेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको उनले बताए।

ठूलो समूहसहित गएका चालकहरूले नगर प्रमुख र उपप्रमुखलाई कार्यालयमा नभेटेपछि सामाजिक महाशाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएर फर्किसकेर बाहिर निस्किने क्रममा प्रहरी प्रमुख पाण्डेमाथि हातपात गरेका थिए।

नगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले अटो चालकहरूले नगर प्रहरीमाथि हातपात गरेपछि छुट्ट्याउने क्रममा आफ्नो गाडीका चालकको समेत हात मर्किएको बताइन्।

‘म र नगर प्रमुख काम विशेषले बाहिर थियौं। उनीहरूले हामीलाई भेट्न नपाएपछि सामाजिक महाशाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएर फर्किने क्रमम हुल हुज्जत गरेर कुटपिट गरेका रहेछन्,’ उपप्रमुख अर्यालले भनिन्।

उपमहानगरपालिकाले यसअघि सञ्चालन हुँदै आएका मान्छेले तान्ने रिक्सा विस्थापित गर्दा पाँच वटा रिक्सा बराबर एउटा अटोरिक्सा दर्ता गर्ने सहमति दिएको थियो। सोही अनुसार बुटवलमा १ हजार ४ सय ४० वटा अटोरिक्सा दर्ता भएपछि त्योभन्दा बढी अटो रिक्सा आयात गरेकाहरू असन्तुष्ट रहँदै आएका छन्।

बुटवलमा दर्ता भएका अटोरिक्साकै हाराहारीमा दर्ता बिनाका अटो रिक्सा सञ्चालनमा छन्। बजारको मागभन्दा धेरै अटो रिक्सा सञ्चालन हुँदा बुटवल बजारको ट्राफिक अस्तव्यस्त बनेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34