KFGVRFI34

बजारमा त्रैमास अन्त्यको प्रभाव, नेप्से घट्यो कारोबार रकम भने बढ्यो

0

पछिल्ला केही कारोबार दिनदेखि शेयर बजारमा त्रैमास अन्त्यको प्रभाव देखिरहेको छ। चैत मसान्त नजिकिएसँगै ब्याज तिर्ने रकम जोहो गर्दा पछिल्ला केही दिनदेखि नेप्से ओरालो लागिरहेको हो।

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर घटेर बन्द भइरहेको छ। यस दिन पनि नेप्सेले सोही क्रमलाई निरन्तरता दिएको छ। बिहीबार नेप्से परिसूचक २.७३ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण कायमै रहेको देखिन्छ। शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा यस दिन पनि ९ लघुवित्त कम्पनीहरु रहेका छन्। जसमध्ये मानुषि लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.२४ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्टको १८ करोडभन्दा बढीको शयर खरिदबिक्री भएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34