KFGVRFI34

किन बढ्दै छ सुन र अमेरिकी डलर सँगैसँगै ?

0

शुक्रबार अमेरिकी डलरको विनिमय दर र सुनको मूल्य दुवैले रेकर्ड राखेको छ । केही समय अगाडि डलर र सुनको सम्बन्ध उल्टो हुने गरे पनि अहिले भने डलर र सुन समानान्तर रुपमा उकालो लागिरहेको छ ।

अन्तराष्ट्रिय बजारमा डलर कमजाेर हुँदै गएपछि त्यसकाे विकल्पमा सुनमा लगानी हुन थालेपछि सुनकाे मुल्यले नयाँ रेकर्ड कायम गर्दै लगेकाे हाे भने भारतीय रुपैयाँसँगकाे स्थिर विनिमयका कारण भारु कमजाेर हुँदा नेपाली रुपैयाँ पनि अवमुल्यन भएकाे विज्ञहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३० हजार ३ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनभन्दा ७ सय रुपैयाँ महँगो हो र हालसम्मकै सर्वाधिक मूल्य हो । पछिल्लो केही दिनदेखि सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो पाँच वर्षमा बजार मूल्यलाई तुलना गर्ने हो भने सुनको मूल्य दोब्बरले वृद्धि भएको छ ।

त्यस्तै अमेरिकी डलरको विनिमय दर पनि हरेक दिन नयाँ उचाईमा पुग्दैछ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ सय ३३ रुपैयाँ ९७ पैसा कायम भएको छ जुन अहिलेसम्मकै उच्च विनिमय दर हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग १ सय भारु बराबर १ सय ६० नेरुमा स्थिर गरिएको छ । नेपालको ६० प्रतिशतभन्दा बढी व्यापार भारतसँगै हुने हुँदा भारतको अर्थतन्त्रमा पर्ने प्रभावले नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्दछ । भारतीय रुपैयाँ अमेरिकी डलर कमजोर हुँदै गर्दा त्यसले नेपाली रुपैयाँको पनि विस्तारै अवमूल्यन हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य २०८१ को बैशाख महिनाको पहिलो हप्तासम्म आइपुग्दा १ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ६ वर्षको अन्तरालमा सुनको मूल्य ८१ हजारले वृद्धि भएको देखिन्छ । २०७६ बैशाखमा प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तथ्यांक छ । २०७९ को बैशाखसम्म आइपुग्दा भने सुनको मूल्यले १ लाखभन्दा पुगिसकेको थियो भने २०८० बैशाख पुग्दा यो सुनको मूल्य १ लाख १० हजार रुपैयाँको हाराहारीमा थियो ।

२०८१ लागे पछि भने सुनको मूल्य गति झनै बढेको छ र प्रति तोला डेढ लाखभन्दा बढी पुग्ने आँकलन गरिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा ०७८ फागुनबाट घटाएको थियो । अहिले फेरि नेपाल राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको युक्रेन रसिया युद्ध साम्य हुन नपाउँदै शुरु भएको इरान इजरायल युद्धको प्रभाव सुनको मूल्यमा पर्न गएको बताउँछन् । व्यापारमा अनिश्चितता बढ्दै जाँदा चीन लगायत धेरै देशको केन्द्रीय बैंकले सुनमा आफ्नो होल्डिङ बढाउँदै लगेको छ, केन्द्रीय बैंकहरुले सुनको माग बढाउँदा बजारमा सुनको मूल्यमा समेत वृद्धि भएको उनले बताए । अमेरिकी र चीनबीच जारी व्यापारमा भइरहेको टकरावले पनि सुनको मूल्य बढ्न सहयोग पुगेको हो । नेपालको सवालमा सुनको मूल्य बढ्ने अर्को कारण भन्सार दर समेत रहेको अध्यक्ष शाक्यले बताए । नेपालले प्रति केजी सुनमा १५ प्रतिशत भन्सार लगाउने गर्दा त्यसले पनि सुन महंगो हुन गएको बताए ।

तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको आठ महिनामा १६ अर्ब १२ करोडरुपैयाँ बराबरको कुल १९ सय किलोग्राम सुन आयात भएको देखिन्छ । सोही अवधिमा सरकारले २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व कमाएको छ ।

केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा पनि सुरक्षित रहने हुनाले निकै महत्व दिने गरेका छन् । अहिले इजरायल र हमासको युद्धका कारण पनि सुनको मूल्यमा थप वृद्धि भएको जानकारहरुको भनाइ छ ।
पछिल्लो समयमा विश्वका विभिन्न मुलुकमा चलेको द्वन्द्व र अनिश्चितताले सुनको मूल्यमा अझै वृद्धि हुने देखाएको छ ।

कुन देशसँग कति छ सुनको रिभर्ज

विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशको पहिलो नम्बरमा अमेरिका पर्दछ । हाल अमेरिकासँग मात्रै ८ हजार १३३ टन सुन भण्डारण रहेको छ । अमेरिकाको विदेशी मुद्रा संचितिमा सुनको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ ।

यस्तै, दोस्रो नम्बरमा रहेको छ जर्मनी । जर्मनीसँग ३ हजार ३५३ टन सुन भण्डारण छ । तेस्रो धेरै सुन इटलीसँग २ हजार ४५२ टन, फ्रान्ससँग २ हजार ४३६ टन, रसियासँग २ हजार ३३३ टन छ ।

अहिले धेरै सुन होल्ड गर्ने राष्ट्रको छैटौ स्थानमा चीन, सातौमा स्वीजरल्यान्ड, आठौंमा जापान, नवौंमा भारत र दशौंमा नेदरल्यान्ड रहेको छ । पछिल्लो केही हप्तादेखि चीनले अन्तर्राष्ट्रिय बजारबाट आक्रामक रुपमा सुन खरिद गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाइरहेका छन् । सम्पत्तिको मूल्यमा लगातार भइरहेको गिरावट, फेडरल रिजर्भले व्याज दर घटाउने प्रक्षेपण, रुस–युक्रेन एवम इजरायल हमास युद्ध जारी रहेको अवस्थामा भुराजनीतिक परिस्थितिले पनि सुरक्षित गन्तव्य स्वरुप पहेलो धातुमा सुनमा लगानी बढिरहेको अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरुले बताएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34